समाचार

आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाइँदै



काठमाडौँ, ११ मंसिर । आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ ।

यस वर्ष असोजमा अधिक मास परेकाले चाडपर्वहरू पछाडि सरेका हुन् । हरिबोधिनी एकादशी यस पर्व आज परेको छ । हरिबोधिनी एकादशीलाई वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा समेत लिने गरिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महिनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।