काठमाडौँ, १६ मंसिर । लम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग्नु पार्टी एकता विरोधी गुटगत मानसिकता भएको बताउनुभएको छ ।
पार्टीभित्र उत्पन्न समस्यालाई एक जना अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामा माग्नु गलत भएको उल्लेख गर्दै उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो ।’
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक-फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । सचिवालय बैठकमा अध्यक्षद्वयको फरक/फरक राजनीतिक प्रतिवेदन पेस भएपछि विवाद र आरोप-प्रत्यारोप झन बढ्दै गएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहुमत सचिवालयको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मान्नुपर्ने बताउँदै आएका छन् । तर अध्यक्ष ओली पक्षले भने पार्टीको अन्तरिक विधानअनुसार सहमति कायम गरेर अगाडि बढनुपर्ने अडान राख्दै आएका छन् ।
दुवै पक्षले आ–आफ्नो अडान कायमै राखेको अवस्थामा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने भएको छ । बहुमतीय प्रक्रियाबाट निर्णय भएको अवस्थामा पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा पर्ने दाबी गरिएको छ ।
प्रचण्डले पेस गरेको १९ पेजको राजनीतिक प्रतिवेदनका विरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफी राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । दुई अध्यक्षबीच देखिएको आरोप–प्रत्यारोपको कारण पार्टी एकता नै संकटमा पर्ने चिन्तासमेत पार्टीभित्र देखापरेको एक स्थायी समिति सदस्यले बताए ।










प्रतिक्रिया दिनुहोस्