काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय लडाइँ सिर्जना गर्दा राष्ट्रिय एकता ध्वस्त हुने भएकाले सबै मिलेर यस्ता समस्याको समाधान गरी सबै जातिको उत्थान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्गको प्रवेश विन्दु ललितपुरको खोकनाको जग्गाको मुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाइबुझाइ गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खोकनामा जनतामा मात्र होइन, त्यहाँका देवताका मठमन्दिर पनि उठाउन लागियो भन्ने गलत कुरा फैलाएर स्थानीयवासीको सेन्टिमेन्ट लिन खोजिएको छ । समस्या समाधानमा लाग्नुपर्ने जनप्रतिनिधि र नेताहरु उल्टै समस्या बल्झाउन लागेका छन् । समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने यस्ता प्रयासबाट सतर्क हुनुपर्छ ।”
सरकारले भत्किएका पुरातात्त्विक भवन र सम्पदा पुनःनिर्माण तथा ऐतिहासिक गढीहरुको संरक्षण गरिरहेकाले विकासनिर्माणका आयोजना गर्दा त्यस्ता संरचना र सम्पदालाई असर नपार्ने गरी काम गरिने स्पष्ट गर्दै उहाँले खोकनाको जग्गा विवाद मिलाउन राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र रक्षा मन्त्रालय तथा नेपाली सेनालाई समन्वयात्मक पहल गर्न निर्देशन दिनुभयो ।
विकास निर्माणका काम कछुवा गति नभई तीव्र गतिमा गर्न आग्रह गर्दै भ्रष्ट सोचाइ भएकाहरुले जे काममा पनि भ्रष्टाचार हुन्छ भन्ने देख्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकथरिलाई सबै काममा भ्रष्टाचार हुन्छ भन्ने लागेको छ । ती भ्रष्ट सोचाइ भएकाले भ्रष्टाचार नहुने कुरा पत्याउँदैनन् । पेट र मुख छ भन्दैमा जेमा पनि, जे पनि हसुर्नु हुँदैन । त्यस्तो भएमा गाईँभैँसी र मान्छेमा भिन्नता हुँदैन । त्यस्ताले विकासनिर्माणमा उल्झन ल्याउँछन् ।”










प्रतिक्रिया दिनुहोस्