Banner News

विश्व समृद्धि यात्रामा नेपाल सहयात्री : मन्त्री ज्ञवाली



काठमाडौँ, २२ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसारको समृद्धिको यात्रामा नेपाल सहयात्री बनेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । उहाँले त्यसका लागि नवीन सोचका साथ विश्वभर फैलिएका नेपालीको योगदान जरुरी रहेको बताउनुभयो ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको ब्रेनगेन सेन्टरले आइतबार आयोजना गरेको उच्च शिक्षामा डायस्पोराको संलग्नता र सहकार्यका सम्भावना विषयक वेबिनारको तेस्रो शृङ्खलाको युरोप सत्रमा मन्त्री ज्ञवालीले नेपाल विश्वव्यापीकरणसँगै अगाडि बढेको यो अवस्थामा विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र अनुभवको योगदान आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार उच्च शिक्षाका लागि देशमा जुन तहको पूर्वाधार, संरचना र प्रणाली विकास गर्न सक्नुपथ्र्यो । तर त्यो गर्न नसकिरहेको परिप्रेक्ष्यमा हाम्रा ‘बेस्ट ब्रेन’हरू संसारभर पुगेका छन् । जसका कारण संसारका उत्कृष्ट संस्थासँग परिचित गर्ने नयाँ ढोका खोलिदिएको छ । त्यो ज्ञानलाई नेपाली डायस्पोरालाई नेपालको विकाससँग जोड्न चाहेको उहाँले स्पष्ट गर्नुभयो ।

पूर्णरूपमा आउन नसक्नेका लागि अर्को विकल्पका रूपमा अल्पकालीन समयका लागि आएर विश्वविद्यालय, स्कुल, क्याम्पस, अनुसन्धान लगायत विभिन्न परियोजनामा जोडिएर सहयोग गर्न सक्ने उहाँले औँल्याउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।