समाचार

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ



विराटनगर, २६ मंसिर । मोरङको धनपालनाथ गाउँपालिकामा बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका– ५ कि २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना ५ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । भदौ २४ गते बेलबारी नगरपालिका– ८ का सुरेशकुमार खवासले धानबालीमा युरिया हाल्न सँगै लगी युवतीलाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाको भोलिपल्ट बसेको स्थानीय भद्रभलादमीको भेलाले पीडित पक्षलाई ५ लाख रुपैयाँ दिने गरी मिलापत्र गरेको थियो ।

तर मिलापत्र अनुसार रकम नपाएपछि पीडित पक्षले २४ असोजमा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । मिलापत्र गराएको आरोपमा बिहीबार धनपालथान गाउँपालिका– ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका– १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका – ८ का ५३ वर्षीय मथालु खवास पक्राउ परेका छन् ।

जाहेरी परेको एक महिनापछि प्रहरीले भेलामा सहभागीमध्ये ६ जनालाई पक्राउ गरेको हो । मिलापत्र गराउन संलग्न अरु मानिसहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।