समाचार

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौँ, २९ मंसिर । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो ।

उक्त दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष कार्की र ट्रक चालक मनकुमार माझीको मृत्यु भएको छ । दुवै जनाको घर सिन्धुली हो ।

भिरमा कोही पनि जानसक्ने अवस्था नभएकोले डोरी मगाएर शव निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।