काठमाडौं, ३१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन प्रस्तावको समर्थन गर्ने भएको छ । यसअघि दर्ता भएको संशोधन प्रस्तावको विपक्षमा उभिएको राप्रपाले नयाँ संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले निर्वाचनमा आन्दोलनरत दलहरु सहभागी हुने सुनिश्चित भए फरक मतसहित संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ ‘हालै व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका केही पक्षमा पार्टीको फरक मत भएता पनि आगामी निर्वाचनमा आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने सुनिश्चित भएमा आफ्नो फरक मतका बाबजुद देशलाई राजनीतिक निकास दिनका लागि पार्टीले संशोधन प्रस्तावको समर्थन गर्नेछ ।’
बैठकले आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बढि भन्दा बढि स्थानमा पार्टीका उमेदवारलाई विजयी गराउन केन्द्रको सहमति लिई जिल्ला कार्य समितिले स्थानीय स्तरमा अन्य दलहरुसँग तालमेल गर्न अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्