समाचार

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह



रसुवा, २ पौष । रसुवा प्रहरीले अपरिचित व्यक्तिदेखि सजग रही सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ ।

स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ । अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्लावासीलाई आग्रह गरिएको हो ।

अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अपहरण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्नसमेत आग्रह गरेको छ ।