काठमाडौँ, ११ पौष । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ ।
नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ । कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ ।
प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ । त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ । बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ । यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ । गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ । प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन ।
बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गरी शुक्रबार बिहान ११ः२५ बजे अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
उनीहरूले मुख्यमन्त्री पौडेललाई पदमुक्त गर्न माग गर्दै नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन् । उनीहरूले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्