समाचार

अपराध नियन्त्रणका लागि प्रहरीको घरदैलो अभियान



चितवन, १६ पौष । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेसल टास्क डोर टु डोर अवेर्नेस’ कार्यक्रम प्रभावकारी बनेको सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन् । अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

उनले भनिन्, “हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय एकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भिड कम भएको छ ।” अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ ।

चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागुऔषध दुर्व्यवसनीलाई मूल्यांकन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ । कानुन र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिटलगायत घटनामा उल्लेख्य कमी आएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए । दुईवटा मोटरसाइकलमा चार महिला प्रहरी यस अभियानमा खटिएका छन् । यसको प्रभाव राम्रो रहेको उनले बताए । उनले भने, “स्थानीय समुदाय र पीडितले खुलेर आफ्ना समस्या राख्न सके अपराध नियन्त्रणमा सहयोग पुग्छ ।” रासस