काठमाडौँ, १७ पौष । चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले हालै नेपालका नेता तथा प्रधानमन्त्री र राष्ट्रपतिलाइ भेटेर फर्किसकेको छ ।
बिहीबार साँझ नेपाल भ्रमणबारे जानकारी सार्वजनिक गर्दै चिनियाँ विदेश मामिला प्रवक्ता वाङ वेनबिनले भ्रमणका क्रममा नेपाली पार्टीहरुबीचको अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका विविध विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको उक्त प्रतिनिधि मण्डलले नेपालका सत्तारुढ र विपक्षी दलका नेताहरुसँग भेट गरी विभिन्न आपसी विषयमा छलफल गरेको जनाउँदै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको बताउनुभयो । यस क्रममा नेपाली पक्षले चिनियाँ कम्युनिष्ट पार्टीको आउँदो सयौँ वर्षगाँठको अवसर बधाई एवं शुभकामना समेत दिएको बताउनुभयो ।
उपमन्त्री गुओको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरू तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्