शैक्षिक

बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ घाइते, पाँचको अवस्था गम्भीर



मोरङ, ११ माघ । बनिगामा र झोराहाटमा बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।

दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सवीना श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ ।

त्यस्तै मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को१त ६४९१ नंको ट्र्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौँडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैँचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन् ।

घाइते दुवैको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।