शैक्षिक

राष्ट्रिय वाणिज्य बैंकको सेवा विस्तारबारे छलफल



बुटवल, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक ५२ वर्षमा प्रवेश गरेको अवसरमा बैंकको बुटवल शाखाले स्थानीय सेवाग्राहीसँग सेवा विस्तारलगायत विषयमा छलफल गरेको छ ।

कार्यक्रममा सहभागि वक्ताले बैंकको सेवा प्रवाहलाई अझ बढी सरल र ग्राहकमैत्री बनाउन सुझाव दिएका छन् । बैंकको बुटवल पाल्पारोडस्थित आफ्नो जग्गामा सुविधासम्पन्न अत्याधुनिक भवन बनाई त्यहीबाट बैंकिङ सेवा दिन समेत वक्ताले आग्रह गरेका छन् ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल कसजू, यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख चेतप्रसाद उप्रेती, सिद्धार्थ बोर्डिङ स्कुलका प्राचार्य बाबुराम खनाल, उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष निर्मल लाकौललगायतले बैंकलाई उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन सुझाव दिएका थिए ।

बैंकका बुटवल शाखा प्रबन्धक शङ्कर पहारीले बैंकले दिने सेवालाई समयसापेक्ष, प्रतिस्पर्धी र ग्राहकमैत्री बनाउन कर्मचारीलाई बेलाबेलामा तालिम दिने गरिएको र उत्पादनमूलक क्षेत्रमै कर्जा लगानी गरेको बताए । शाखाले गत आवमा दुई अर्ब एक करोड निक्षेप सङ्कलन तथा एक अर्ब ४२ करोड कर्जा लगानी गरी आठ करोड ३२ लाख मुनाफा आर्जन गरेको बैंकका प्रबन्धक पहारीले जानकारी दिए ।