शैक्षिक

नयाँ वर्षका उपलक्ष्यमा उज्यालो अभियान



पोखरा, २ वैशाख । पोखरा लेखनाथ महानगरपालिका–२१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष २०७४ का अवसरमा निःशुल्क एलइडी चिम वितरण गरेको छ ।

मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पु¥याउने उद्देश्यले रु २५ हजार बराबरका ९७ एलइडी चिम निःशुल्क वितरण गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट्रोनिक इन्जिनियर पवन पौडेलले स्थानीयवासी ज्येष्ठ नागरिक सुन्दर विकलाई एलइडी चिम हस्तान्तरण गरेर सो कार्यक्रमको उद्घाटन गर्दै वातावरणमैत्री र खर्च कम हुने एलइडी चिम प्रयोगमा जोड दिनुपर्ने बताए ।

गत सालको तिहारमा भैलो र देउसी खेलेर सङ्कलित रकमले फेदीपाटन र पिपलडाली टोल विकास संस्थाअन्तर्गतका एक सय पाँच घरमा एक महिनाभित्र पुरानाको सट्टा एलइडी चिम जडान गरिसकिने लक्ष्य रहेको क्लबका अध्यक्ष प्रताप पौडेलले जानकारी दिए ।

उनका अनुसार क्लबको सक्रियतामा रु एक लाख ८० हजारको लागतमा पार्दीखोलास्थित दम्सादी झोलुङ्गे पुलको मुखदेखि मास्पाटनसम्मको लगभग २०० मि लम्बाइको मोटर बाटोसमेत मर्मत गरी पुनः सञ्चालनमा आएको छ ।

पोखरासँग जोडिएर पनि विकास निर्माणको तुलनामा ओझेलमा परेको सो स्थानमा क्लबले यसअघि निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिकलगायत विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका सचिव टीकाराम पौडेलले जानकारी दिए ।