भक्तपुर, २२ माघ । सत्ता स्वार्थ तथा कुर्सीको लडाईको लागि पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको नेतृत्वमा रहेको अराजक तत्वले आज गरेको बन्द भक्तपुरमा पूर्ण रुपमा अवज्ञा भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता महेश बस्नेतको क्षेत्र भक्तपुरमा विहान केही समय बन्दको छिटफुट प्रभाव परेपनि अहिले बन्द पूर्ण रुपमा अवज्ञा भएको छ ।
कोरोनाका कारण करिव १० महिना थलिएको अवस्थामा आम हड्ताल गरी आम नागरिकको दैनिक जीवनमा खेलवाड गरेको भन्दै आम नागरिकको साथमा युवा तथा विद्यार्थीले स्वतस्फुर्त सयाैं बाइक र्याली निकाली बन्दको अवज्ञा गरेका हुन् । बन्द सधैंको लागि बन्द हुनुपर्ने भन्दा युवा विद्यार्थीले भक्तपुरमा आम हड्तालको विरुद्धमा वाइक र्याली निकालेका हुन् ।
बन्दको नाममा अराजकता फिँजाएको भन्दै युवा विद्यार्थीले अब बन्दकर्तालाई जहाँ भेट्यो त्यही लखेट्ने समेत उद्घोष गरेका छन् । बन्दको नाममा नागरिकलाई दुःख दिने काम भएको भन्दै जनताको जीवन तथा दैनिकीको लागि जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको समेत युवा विद्यार्थीले उद्घोष गरेका छन् । जनताको दुःख नै आफ्नो दुःख भएको स्मरण गर्दै कसैको स्वार्थको लागि मुलुकलाई नै अस्थिरताको बाटोमा लान नदिने समेत आक्रोस जनाए ।
कानुनलाई हातमा नभई साथमा लिएर बन्दको अबज्ञा गरिएको उल्लेख गर्दै युवा विद्यार्थीले सम्पूण आम नागरिकलाई समेत बन्दको अवज्ञा गरी आफ्नो दैनिकी शुरु गर्न आग्रह गरेका छन् । त्यस्तै प्रशासनले समेत बन्दकर्तालाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्