शैक्षिक

निर्वाचन आयोगमा संयुक्त निर्वाचन परिचालन केन्द्र स्थापना



काठमाडौँ, ३ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न निर्वाचन आयोगमा संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसी स्थापना गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले केन्द्रको आज शुभारम्भ गर्दै स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सञ्चालन गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोगको उच्चस्तरीय सुरक्षा समितिको संयोजकसमेत रहनुभएका सुधीरकुमार शाहले उच्चस्तरीय केन्द्रले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका सहसचिव दिनेशकुमार घिमिरेले केन्द्रमा २४ जना र प्रत्येक जिल्लामा गठन हुने संयुक्त निर्वाचन परिचालन केन्द्रमा १३ जना जनशक्ति रहने व्यवस्था गरिएको जानकारी दिनुभयो । केन्द्रमा निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र चारवटै सुरक्षा अङ्गका प्रतिनिधि रहनेछन् ।