काठमाडौं, ४ वैशाख । निर्वाचनको तिथि नजिकिदै जाँदा निर्वाचन केन्द्रित गतिविधिलाई नेकपा एमालेले तीव्र पारेको छ । एमालेले वैशाख ७ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन प्रचार समितिहरु निर्माण गरिसक्ने निर्णय गरेको छ । पार्टी महासचिव तथा स्थानीय तह निर्वाचन केन्द्रीय समन्वय तथा अनुगमन समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको समितिको बैठकले कमिटीले तोकिएको जिम्मेवार व्यक्ति संयोजक रहने र सञ्चारकर्मी, बुद्धिजीवी, अनुभवी र विज्ञहरुलाई समावेश गरी प्रचार समिति बनाउन बैठकले सबै मातहत कमिटीहरुलाई निर्देशन जारी गरेको छ ।
महासचिवको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनी तथा प्राविधिक विषयहरुमा सबै तहमा प्रशिक्षण तथा तालिम सञ्चालन गर्न समेत मातहत कमिटीहरुलाई निर्देशन जारी गरेको छ ।
बैठकमा सातवटै प्रदेशमा स्थानीय तहको निर्वाचनसम्बन्धी तयारीका कामहरुको समीक्षा भएको छ । ‘सबै तहमा निर्वाचन परिचालन कमिटी गठन भई निर्वाचनसम्बन्धी आन्तरिक कामहरु अगाडि बढिरहेको, विभिन्न उपसमितिहरु निर्माण भई तोकिएका जिम्मेवारीको कामहरु भइरहेको, पार्टीको केन्द्रीय सर्कुलर अनुसार स्थानीय कमिटीहरुको पुनःसंरचनाको काम करिब–करिब सम्पन्न भएको,एमालेको सबै पंक्ति निर्वाचनमा उत्साहजनक रुपमा क्रियाशील रहेको कुरा समीक्षाबाट प्राप्त भएको छ प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्