काठमाडौँ, २७ फागुन । शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै आज महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरूका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ ।
नियमित जस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ, तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने छ ।
चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ । मालबाहक सवारीसाधनहरू तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटेल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
वनकाली खुल्ला चौर, सिफलचौर, गुह्येश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ । पागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिकाज होटेलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।
चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्