Banner News

सरकारले विकास निर्माणका कामलाई तीव्रता दिएको छ : प्रधानमन्त्री ओली



काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताएका छन् ।

आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याए ।

नागरिकको जीवनको रक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले हरेक काममा नागरिकको जीवनलाई केन्द्र भागमा राखेर काम गरेको बताए ।

उनले भने, ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ , ‘त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’ प्रधानमन्त्री ओलीले केहीले विरोधकै लागि भए पनि विरोध गर्ने गरेको आरोप लगाए । विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं,’ उनले भने, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’

नेपालको सन्दर्भमा मानिसलाई विश्वास गर्न गाह्रो हुने गतिमा सरकारले विकास निर्माणको कार्यलाई अघि बढाएको उनको भनाइ थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताए ।

सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको र सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गरे उनका अनुसार अहिलेसम्म ३ सय ९२ ठाउँबाट निवेदन प्राप्त भएका छन् ।