काठमाडौँ, ५ वैशाख । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगार दिइने कार्यक्रम ल्याउन थालेको बताए ।
हिजो पार्टी कार्यालय धूम्रबाराहीमा एमाले प्रचार विभागले आयोजना गरेको स्थानीय तहको ‘घोषणापत्रमा आमसञ्चार’ सम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रममा उनले भने–– ‘तीन वर्षमा ‘एक घर एक रोजगार’ बनाइने छ ।’
कावा अध्यक्ष गौतमले “निर्वाचनपछि केन्द्रमा एमालेको सरकार बनेमा कोही पनि युवा बेरोजगार भएर बस्नु पर्दैन” भन्दै पहिलो वर्षमा खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा गरिबी उन्मूलन गर्ने बताए ।
पाँच वर्षमा हरेक नेपालीको प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पु¥याउने खालका योजना घोषणापत्रमा ल्याउन थालेको बताउँदै उहाँले स्थानीय तहको भौतिक पूर्वाधार तयार गरी तीन वर्षमा नगरपालिका र गाउँपालिकालाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने योजना ल्याउन लागेको बताए
कावा अध्यक्ष गौतमले स्थानीय तहका लागि केन्द्र सरकारको ५० प्रतिशत बजेट विनियोजन गर्ने किसिमको कार्यक्रम ल्याउन थालेको जानकारी दिदैं “केन्द्रले स्थानीय तहलाई आफ्नो खुट्टामा आफँ उभिनेगरी बजेट विनियोजन गर्नुपर्दछ भने।”
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, मनोरञ्जनजस्ता कुरा निःशुल्क गर्ने बताउँदै उनले अबको शिक्षा व्यावहारिक र वैज्ञानिक बनाइने धारणा व्यक्त गरे ।
कावा अध्यक्ष गौतमले माध्यामिक र उच्च शिक्षाको अध्ययन गर्नका लागि आवासीयसहित निःशुल्क शिक्षा प्रदान गर्ने योजना पार्टीले ल्याउन लागेको उल्लेख गर्दै “व्यावसायिक र प्राविधिक शिक्षामा ७० प्रतिशत तथा सामाजिक, राजनीतिक र प्रशासनिक शिक्षामा ३० प्रतिशत जनशक्ति उत्पादन गर्ने योजना पार्टीको छ भने ।
आगामी दस वर्षभित्रमा नेपाललाई एसियाको मापदण्डमा देशलाई पु¥याउने र प्रत्येक प्रदेशमा एउटा सूचना गाउँ स्थापना गर्ने बताउँदै उहाँले स्थानीय भाषाको विकासका लागि नीति ल्याइने जानकारी दिनुभयो ।
पार्टीले इन्टरनेटलाई पूर्णतया निःशुल्क प्रदान गर्नेजस्ता योजना घोषणापत्रमा ल्याउन थालिएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्