पोखरा, ३ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमयी भएको बताउनुभएको छ ।
मंगलबार पोखरामा प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित शान्ती पत्रकारिता पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै नेता पछिल्लो राजनीतिक घटनाक्रममा कांग्रेस निर्णयमा पुग्न आफूले सुझाव दिएको तर सभापति देउवाले निर्णय गर्न नसक्नुलाई रहसयमयी रहेको संकेत गर्नुभएको हो । नेता पौडेलले छिटो निर्णय गर्न र देशलाई निकास दिन देउवालाई आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले कांग्रेसलाई अनिर्णयको बन्दी बनेको आरोप लाग्न थालेको छ । हाम्रा सभापतिको उदासिनता भन्ने कि के भन्ने मलाइ रहस्यमय लगेको छ । म त पहिले सुरुदेखी नै, कांग्रेस भन्ने पार्टी संसदमा सानो भए पनि नेपालको राजनीतिमा यो पार्टीको अत्यन्त ठूलो भूमिका रहेको छ ।” अहिले देश अराजकतातर्फ उन्मुख भएको र त्यसको अन्त्य गरिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “राष्ट्रको राजनीतिलाई जुन अराजकतातिर लैजान खोजिएको छ, त्यसको अन्त्य गर्नुपर्छ भनेर मैले भनिरहेको छु ।”
दोधारमा नबसी जसपा, माओवादी र कांग्रेसको संयुक्त सरकार बनाउनमा ढिलाई नगर्न उनले देउवालाई सुझाव दिनुभयो । “हामी दोधारमा बस्ने हैन, जसपाका नेताहरुलाई केपी ओलीले जे–जे आश्वासन दिनुभएको छ, त्यो हामी गर्दिउँ, गर्छु भनौँ अनि माओवादीलाई पनि साथ लिएर यो सरकार ढलाइदिउँ । तर, अहिलेसम्म केही भएको छैन । अहिले मिडियामा पढेको छु, कांग्रेसले नेतृत्व नै लिनेबारे केही निर्णय नै गर्दैन । यस्तो स्थितिमा रहने हो भने, फेरि पनि राजनीति उल्टो बाटोतर्फ गइरहेको छ,” उहाँले भन्नुभयो ।










प्रतिक्रिया दिनुहोस्