Banner News

राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड



काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाँले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जान प्रस्ताव गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री ओलीले संसदबाट अब नयाँ सरकार बन्न नसक्ने भन्दै सहमतिमै चुनावमा जान प्रस्ताव गर्नुभएको हो । सहभागी अन्य दलले भने प्रधानमन्त्रीको प्रस्तावको तत्कालै प्रतिवाद गरेका थिए ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा। शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी हुनुभएको थियो ।