अर्थ

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो



काठमाडौँ, ७ चैत । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ । सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ । सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ ।

सहकारी विभागका अनुसार यस्ता संस्थाले मनोमानी ढंगले कार्यक्षेत्रबाहिर कारोबार गर्ने गरेका छन् । घरजग्गा तथा हाउजिङमा लगानी गर्दा सहकारी समस्यामा परेका छन् । घरजग्गा तथा हाउजिङमा अन्धाधुन्ध लगानी गरेका कारण ओरेन्टल सहकारी समस्याग्रस्त घोषित भए पनि समस्या सल्टिएको छैन । सिभिल र पशुपति पनि अन्धाधुन्ध घरजग्गामा कारोबार गरेका कारण टाट पल्टिएका हुन् ।

जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईंले ललितपुरका सहकारीमा समस्या बढी देखिएको स्विकारे । समस्या समाधानका लागि संघले पहल गरिरहेको अध्यक्ष बजगाईंको भनाइ छ । संघको सक्रियतामा गुडविलको समस्या समाधान गर्न निक्षेपकर्ताका तर्फबाट कार्यदल गठन गरिएको छ । फरार अध्यक्षलाई खोज्न निक्षेपकर्ता सक्रिय छन् । सञ्चालक र बचतकर्ता कार्यालयमा उपस्थित भएर समस्या समाधान गर्नतर्फ केन्द्रित भएको उनले बताए ।

नियामक निकाय सहकारी विभागले देशभरका १ सय २५ सहकारीको मात्रै नियमन गर्छ। तर, देशभर ३० हजार सहकारी छन् । अधिकांश सहकारी स्थानीय तह र प्रदेशमातहत छन् । सहकारीमा बलियो नियमन हुन नसक्दा सर्वसाधारण ठगिने क्रम बढेको छ ।

विभागका रजिस्ट्रार लीलाप्रसाद शर्माले राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताए । ‘समस्याप्रति हामी चिन्तित छौं’, रजिस्ट्रार शर्माले भने, ‘३० हजारभन्दा बढी संस्थामा कसले बदमासी ग¥यो भनेर खोजेर रोक्न गाह्रो छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।