भक्तपुर, ७ चैत । प्रतिनिधी सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गोलचक्करमा फसेको नेपालको अहिलेको राजनीतिलाई निकास दिन नयाँ जनादेशमा जानु उपयुक्त विकल्प भएको बताउनु भएको छ ।
मध्यपुरथिमि नगरपालिका वडा नं. ९ राधेराधेस्थित सडकको आज शिलान्यास गर्दै उहाँले नेपालको राजनीति गोलचक्करमा फसेकाले व्यक्तिको आकांक्षाको व्यवस्थापन एवं सम्बोधन गर्न राजनीतिमा चुनौती र जटिलता थपिएको बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले गोलचक्करमा फसेको राजनीतिलाई निकासा दिन यो सदनले सक्नेमा आशंमा व्यक्त गर्दै भन्नुभयो, ‘अहिलेको संसदले निकास दिन सक्ला नसक्ला, यो अवस्थामा जनतालाई नै निकासको अधिकार दिएर जतिसक्दो छिटो नयाँ जनादेशमा गएर राम्रो नेता छानेर स्पष्ट बहुमतको स्थिर सरकारमा बनाउनु उपयुक्त हुन्छ ।’
नयाँ जनादेशमा नजाने हो भने पनि सत्ताको खिचातानीलाई त्यागेर अबको बाँकी दुई वर्ष यही सरकारलाई निरन्तरता दिएर विकासमा अगाडि जानु अर्को विकल्प भएको उहाँको भनाई छ । विकासको नयाँ युगमा देश प्रवेश गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘सरकारले राम्रो काम गरेको छ, अब बाँकी दुई वर्ष यही सरकारलाई काम गर्न दिनु पर्छ, अहिलेको सरकार हटाएर प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाएर देशको आमूल विकास हुन्छ भन्ने विश्वास मलाई मात्रै होईन जनतालाई पनि छैन ।’
सत्ता परिवर्तन गरेर व्यक्तिको अनुहार फेरेर मात्रै मुलुक परिवर्तन नहुने बताउदै सांसद बस्नेतले सर्वोच्च अदालतले ११ गते गरेको संसद पुर्नस्थापनाको फैसलाले सत्ताको साँचो कांग्रेसको हातमा पुग्दा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस भन्न बुढानिलकण्ठ पुगेका प्रचण्ड, माधव नेपाल २३ गतेको सर्वोच्च अदालतको अर्को फैसलाले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँझाए पछि सत्ताको साँचो कांग्रेसको हातबाट फुत्किएर जनता समाजवादी पार्टीको हातमा पुगेपछि फेरी त्यतै लागेको टिप्पणी गर्नुभयो ।
‘कांग्रेसको हातमा सत्ताको साँचो हुँदा प्रचण्ड–माधव नेपालले रामचन्द्र पौडेललाई राष्ट्रपति र शेरबहादुर देउवालाई प्रधानमन्त्री बाड्दै हिड्दा कांग्रेस झण्डै विभाजनको अबस्थामा पुगेको थियो, अहिले प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरदेखि बाबुराम भट्टराईसम्मलाई प्रधानमन्त्री दिन्छौ भन्दै हिड्दा यो पार्टी पनि फुटको संघारमा पुगेको छ, यस्तो प्रबृत्तिले निकास दिदैन ।’
संसद पुर्नस्थापना भए पनि संसद बैठक श्रद्धाञ्जली मै सिमित बनेको भन्दै उहाँले संसदमा अहिले कुनै अध्यादेश, विधेयक वा वर्तमान राजनीतिक अबस्थाको बारेमा बहस नभई दिवंगत सांसदको श्रद्धाञ्जली र केही नेताको आक्रोस तथा कुण्ठा पोख्ने थलो बनेको बताउनुभयो । सांसद बस्नेतले अहिले संसद ह्याङ भएको टिप्पणी गर्दै भन्नुभयो, ‘अहिले संसद ह्याङ भएको छ, ह्याङ भएको संसदले नयाँ केही दिदैन, यस्तो संसदको सांसद भएर बस्नु भन्दा नयाँ जनादेशमा जानु उपयुक्त हो भनेर संसद पुर्नस्थापना हुनुपर्छ भन्ने सांसदहरुले नै अहिले भन्न थालेका छन्, त्यसैले जतिसक्दो छिटो निर्वाचनमा जानुपर्छ ।’
संसद पुर्नस्थापना भएको एक महिनासम्म सरकार बिरुद्ध अविश्वास प्रस्ताव आउन नसक्दा अहिलेका प्रधानमन्त्री ठिक कि त उहाँको कदम ठिक भन्ने प्रमाणित भएको उहााको भनाई छ । सरकार बेठिक भए अविस्वास प्रस्ताव आउथ्यो नि भन्दै सांसद बस्नेतले माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता नलिनुले बाहिर मुखले सरकारको बिरोध गरे पनि अहिलेको सरकारको बिकल्प नभएको भित्री रुपमा पुष्टी गरेको बताउनुभयो ।
उहाँले नेपालको राजनीतिमा पनि अमेरिका, बेलायतमा जस्तै देशमा दुई दल, दुई पटकसम्म मात्र निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष जस्ता पदमा बस्ने कानूनी व्यबस्था ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले सधै एउटै पदमा रहने र लठ्ठी टेकेर प्रधानमन्त्रीको कुर्सीमा बसेर मर्छु भन्ने मनसायलाई त्याग्नु पर्ने बताउदै विकासका लागि राजनीतिक स्थिरता आवश्यक भएको भनाइ राख्नुभयो ।
विगतका सरकार र प्रधानमन्त्रीसंग अहिलेको सरकार र प्रधानमन्त्रीसंग जनताले तुलना गरेर हर्नु पर्ने भनाइ राख्दै उहाँले अहिलेका सरकारको योजना, लक्ष्य, विकास र सम्बृद्धिको अवधारणा अन्तर्राष्ट्रिय भूमिका, समृद्धि, शुसासन, भ्रष्टाचार नियन्त्रणमा यो सरकार अगाडि रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्