राजनीति

राजनितीक दलका घोषणापत्रमा वातावरणीय स्वच्छतालाई प्राथमिकतामा राख्न माग



पोखरा, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा वातावरणीय स्वच्छताकोे विषयलाई आ–आफ्ना दलका घोषणापत्रमा समेट्न सरोकारवालाले माग गरेका छन् ।

साइकल सिटी पोखरासहितका चारवटा संस्थाको प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको कार्यालयमा पुगेर वातावरण संरक्षणको विषयमा ध्यानाकर्षण गराएको हो ।

पोखराको सुन्दरतालाई कायम राख्न वातावरणीय संरक्षण आवश्यक रहेको भन्दै ध्यानाकर्षणपत्रमा पोखरालाई साइकल सिटीका रुपमा अघि बढाउनुपर्नेमा माग गरिएको छ ।

नेपाली काँग्रेस कास्कीको कार्यालयमा पार्टीका उपसभापति हरि आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले पोखराको सुन्दरता कायम गरी यहाँको वातावरणलाई बचाउनका लागि साइकल सिटीको अवधारणालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कास्कीमा क्रियाशील सबै राजनीतिक दललाई वातावरण संरक्षणको विषयलाई आफ्ना घोषणापत्रमा समेट्नका लागि ध्यानाकर्षणपत्र बुझाइएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले पोखराको सुन्दरता बचाउनका लागि वातावरण संरक्षण अपरिहार्य भएको बताउँदै उक्त विषय पार्टीको प्राथमिकतामा रहको धारणा व्यक्त गरे ।

उक्त टोलीमा साइकल सिटी पोखरासहित मिलेर हामी गर्न सक्छौँ, एनवाइसिए पोखरा, साइकल सिटी लेखनाथका प्रतिनिधिको सहभागिता थियो ।