Banner News

मन्त्री नेम्वाङद्वारा सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न निर्देशन



काठमाडौँ, २२ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री नेम्बाङले कुनै एउटा सडकको योजना तयार गर्नेमात्र भन्दा पनि समग्रमा सिङ्गो देशको मास्टर प्लान बनाउन निर्देशन दिएका हुन् । उनले भने, ‘कुन–कुन मन्त्रालय, राष्ट्रिय योजना आयोग बसेर के गरेर हुन्छ सिङ्गो मास्टर प्लान त चाहियो होला नी मुलुकको । एउटा बाटोको मात्रै गरेर त भएन । त्यो पनि शुरु गर्नुभएको छ गर्नुहोस् तर सिङ्गो यातायातको मास्टर प्लान त चाहियो नी मुलुकको । यतातर्फ ध्यान दिनुहोस् भनेर म भन्न चाहन्छु ।’

आयोजना निर्माणका लागि आधा समस्या मुआब्जा वितरणमा हुने गरेकाले त्यस्ता समस्या समाधानका लागि कार्यदल बनाउँदा सहज हुने बताउदै उनले भने, ‘कार्यदल बनाएर हुन्छ की जे बनाएर हुन्छ आदिउदी हामीलाई समस्या परेको भनेको यो मुआब्जा भनेपनि, हर्जाना, क्षतिपूर्ति जहाँ ढिलाई जे भनेपनि हामीलाई समस्या पार्ने भनेको राइट अफ वे को कुरा हो । यसलाई एउटा राइट अफ वे कसरी कायम गर्ने भन्ने बारेमा एउटा कार्यदल बनाऔं न मैले त पहिले देखि भनेको हो ।’

उनले केही सानातिना पुल निर्माणका लागि तलका डिभिजन कार्यालयहरुलाई अधिकार दिनुपर्ने पनि बताए । त्यस्ता आयोजनाको स्वीकृति गर्ने अधिकार क्षेत्रीय निर्देशकलाई दिदा काम अगाडी बढाउन नसक्ने समस्या केही हदसम्म भएपनि समाधान भएर जाने पनि बताए । मन्त्री नेम्बाङले संसदीय समितिहरुका कारण पनि आयोजनाहरुको काम समयमै सम्पन्न हुन नसकेको बताए । एउटै आयोजना दुई तीन वटा समितिमा छलफल हुने र सबैबाट निर्देशन आउँदा काम प्रभावित हुने गरेको बताए । तर तीनै समितिलाई मात्रै देखाएर काम नरोक्न पनि निर्देशन दिए । उनले भने, ‘संसद चल्यो समिति एक्टिभ हुन्छ अनी एउटै इस्यु विभिन्न समितिमा जान्छ । हुँदाहुँदै भर्खरै ८१ सालभित्र सक्नुपर्ने त्यत्रो नयाँ चुनौतीको काम छ, ठेक्का रद्ध गर भन्छ । त्यही काम अर्को समितिमा जान्छ, त्यही काम उता जान्छ, त्यही काम विकास समितिमा आउँछ । अनि कुद्नुपरेको छ सबै मन्त्री देखि लिएर लस्कर लागेर सचिव पनि कुद्नु परेको छ । केही यस्ता कुराहरु ठीक हो । तर थोरै मात्रै हो है यो यही चाहिं प्रमुख कारण होइन नी फेरी । ढिला हुनु, काममा प्रगति नगर्नु सबै यही त होइन तर केही यस्ता यस्ता कुराहरु छन अपर्झट मिटिङहरु छन हाकिमहरु जति जिम्मेवारजतिलाई बोलाएको छ कुदेको छ यो मन्त्रालय अन्तर्गत काम गरिराख्नु भएको छ अर्को मन्त्रालयलाई बोलाएर सोध्या छ । त्यसो भएकाले यस्ता केही समस्याहरु छन यसलाई व्यवहारिक ढङ्गले सोच्नुपर्छ भन्ने कुराहरु लाग्छ ।’