समाचार

लागुऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, ३१ चैत । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषधसहित १९ वर्षीय धर्मेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित माझीलाई पक्राउ गरेको हो ।

यस्तै, सोही ठाउँबाट ५४० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित सर्लाही हरिहरपुर नगरपालिका–४ घर भएका २३ वर्षीय यज्ञबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ८७८७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरसँग उक्त लागुऔषध फेला परेको थियो । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।