राजनीति

ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण छैन: अध्यक्ष ठाकुर



काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन् ।

‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न बिहीबार भेट भएको हो ।’ कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उनले दिए । आफू वर्तमान सरकारको विरोधमा नभएको प्रस्ट पार्दै भने उनले भने, ‘म यो सरकारको विरोधमा छैन ।’

जसपा कार्यकारिणी समितिका सदस्य केशव झाले प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच पछिल्लो समय नियमितजसो भेटवार्ता भइरहेको बताए । जसपाका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न भेट हुने गरेको उनको भनाइ छ । जसपाका मागमध्ये सरकारले मुद्दा खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । यसैगरी सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने प्रक्रिया पनि सरकारले अघि बढाएको छ ।

सरकार–जसपा कार्यदलको बैठक पनि बिहीबार अपराह्न बस्यो । कार्यदलमा विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराई, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् । शुक्ल र कर्ण दुवै ठाकुर निकट मानिन्छन् । प्रधानमन्त्रीले जसपाले उठाएका माग सम्बोधन गर्न संयुक्त कार्यदल बनाएका हुन् । जसपाले मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, नागरिकता विधेयक पास गर्न, रेशम चौधरी रिहा हुने वातावरण बनाउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संविधान संशोधन गर्न माग राखेको छ ।

जसपाका माग प्रति सरकार पूर्ण सकारात्मक रहेको एक नेताले बताए । मुद्दा खारेज गर्न जसपाले अघिल्लो साता २१० जना व्यक्तिको नाम गृहमन्त्रालयमा बुझाइसकेको छ । मन्त्रिपरिषद्ले मुद्दा फिर्तासम्बन्धी निर्देशिका पनि पास गरेको छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिँदै गएपछि जसपाभित्र दुई लाइन देखिएको छ। एउटा लाइनको नेतृत्व ठाकुर र अर्को लाइनको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।