राजनीति

सांसद बस्नेतद्वारा एकैदिन दुई खानेपानी ट्याङकीको शिलान्यास



भक्तपुर, ३ बैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन दुईवटा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्नुभएको छ ।

सांसद बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल महतगाँउको पैयाचौरमा जिल्ला समन्वय समिति तथा नगरपालिकाको संयुक्त लगानी रु ५३ लाख ३३ हजार ३ सय ३३ रुपैंयाको लागतमा १ लाख २५ हजार र ३० हजार लिटरको दुईवटा वन्देश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको खानेपानी ट्याङ्की निर्माणका लागि शिलान्यास सम्पन्न गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले तीनै तहको सरकारको सहकार्यमा नंखेल र चित्तापोलमा खानेपानीको लागि डिपिआर तयार भइरहेको जानकारी गराउनुभयो । प्रत्येक घरमा खानेपानीको सहज रुपमा व्यवस्थापन गर्ने लक्ष्यका साथ वर्तमान स्थानीय, प्रदेश तथा संघिय सरकार लागि परिरहेको उल्लेख गर्दै उहाँले दिव्येश्वरी, त्रिवेणी, नंखेल लगायतका खानेपानी आयोजना एकिकृत गरी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । थप बजेटको व्यवस्थापनको लागि पहल गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

अधुरा सडक तथा पुलहरु निर्माणको कार्यलाई सम्पन्न गराउने प्रकृया अगाडी बढेको जानकारी गराउँदै उहाँले अबको दुई वर्षभित्रका ठूला ठूला विकास निर्माणका आयोजनाहरु निर्माण सम्पन्न भइसक्ने बताउनुभयो । ‘सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित निर्माणका क्रममा रहेको साना तथा ठूला सडक, पुल, खानेपानीलगायतका आयोजनाहरु कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय निर्माणको अन्तिम चरमा रहेका छन्’ उहाँले भन्नुभयो, ‘निर्माणका क्रममा रहेका सवै आयोजनाहरु अबको दुई वर्षभित्रमा निर्माण सम्पन्न भइसक्नेछन् । त्यसपश्चात खास ठूला आयोजनाहरु निर्माण गर्नुपर्ने अवस्था रहन्न ।’

असहजतालाई सहजतामा रुपान्तरण गरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै उहाँले नंखेलमा रंगशाला र सिपाडोलमा कर्वोडहल बनाउने प्रकृया अगाडी बढाएको जानकारी गराउनुभयो । कुरा भन्दा पनि कामलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले सवै नागरिकको साथ र सहयोगले नै समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानलाई पुरा गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर धार्मिक, सांस्कृतिक, पर्यटकीयलगायतका कुराहरुमा परिचित स्थान रहेको उल्लेख गर्दै उहाँले धर्म, संस्कृति, परम्परालगायतलाई रोजगारीको क्षेत्रमा रुपमान्तरण गरी अगाडी बढ्पर्ने आवश्यकता रहेको औंल्याउनुभयो । भक्तपुर जिल्लालाई आर्थिक रुपमा बलियो बनाउन पर्यटन क्षेत्रको विकासलाई विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उहाँले साँगाको झोलुङ्गे पुल तथा त्यसमा आउने नागरिकको सुरक्षाको लागि स्थानीय तहले विशेष योजना बनाई आर्थिक उन्नतीको बाटोमा काम गर्नुपर्ने बताउनुभयो ।

वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतका सहभागिता रहेको थियो ।