काठमाडौँ, ४ बैशाख । नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ ।
एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि ईआरपी प्रणालीमा काम सुरु गरिएको निगमले जनाएको छ । ईआरपी प्रणाली सुरु गरेपछि पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार हुनेछ । पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “एकीकृत कार्यप्रणालीमा जानेगरी सरकारले काम गर्न खोजिरहेको हुँदा निगमले पनि सोहीअनुसार आफ्ना कामहरूलाई व्यवस्थित र अझ प्रभावकारी बनाउन अनलाइन प्रणालीमा काम गर्न सुरु गरेका हौँ ।”
ईआरपी प्रणाली शुक्रबारदेखि परीक्षणका रूपमा निगमले सुरु गरेको छ । प्रवक्ता उपाध्यायको भनाइ छ, “अनलाइन प्रणालीमा हामी पहिलो पटक काम गर्दै छौँ । आज पनि केही कठिनाइ देखापरे, प्राविधिकहरूले काम गरिरहनुभएको छ । तीन महिना परीक्षण भएकाले जहाँ समस्या आउँछ त्यहाँ समाधान हुन्छ, परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ ।”
ट्याङ्करको निगरानी
ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी अनलाइनबाट निगरानी गरी न्यूनीकरण गरिनेछ । निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजानेछ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ ।
निगमका अनुसार ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिबाट निगरानी गरिनेछ । ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको दाबी छ । ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक कामकारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् । एकै स्थानबाट निगरानी र निर्देशन हुनेछ ।
प्रशासनभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य हुने निगमको दाबी छ । पेट्रोल पम्प तथा बिक्रेताहरूले अनलाइनबाट माग र भुक्तानी गर्नेछन् । निगमको दैनिक कारोबार तथा तथ्याङ्क अनलाइन प्रणालीमा हुनेछ ।
विश्वसनीय प्रविधि
ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमले जनाएको छ । यसले नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्ति गर्ने दाबी गरिएको छ । इन्डियन आयल कर्पाेरेसनले पनि ईआरपी प्रणाली लागू गरेको छ । ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने दाबी गरिएको छ । अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुने निगमले जनाएको छ । ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्