सम्पादकीय

यसरी बन्दैछ मध्यपहाडी लोकमार्ग



काठमाडौं, ७ वैशाख । मध्यपहाडी लोकमार्गअन्तर्गतको पूर्वीखण्डमा अहिलेसम्मकै धेरै बजेट खर्च हुने भएको छ । चालू आर्थिक वर्ष ०७३/७४ मा २ अर्ब १९ करोड १८ लाख रुपैयाँ खर्च हुने मध्यपहाडी लोकमार्ग अयोजना, पूर्वीखण्डका आयोजना प्रमुख सत्येन्द्र शाक्यले जानकारी दिए ।

६ सय ९० किलोमिटर लम्बाइको आयोजनालाई चालू आवमा १ अर्ब ४४ करोड १८ लाख रुपैयाँ विनियोजित गरिएको छ । ‘चालू आर्थिक वर्षको समाप्तिसम्ममा थप ७५ करोड रुपैयाँ खर्च गरिनेछ,’ उनले भने ।

त्यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट प्राप्त गर्ने प्रक्रियामा रहेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले आवश्यक थप रकम प्राप्त गर्न समस्या नरहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । सरकारले बजेटमार्फत नै राष्ट्रिय गौरवका आयोजनाले पुँजीगत खर्च थप माग गरेका वर्षभरि नै

(जहिले पनि) उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आयोजनाले चालू आवमा विनियोजन गरेको रकममध्ये अहिलेसम्म करिब १ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको जानकारी दिएको छ । कार्यालयका अनुसार यसअघि पूर्वीखण्डमा सबभन्दा बढी बजेट खर्च ०७१/७२ सालमा १ अर्ब ६९ करोड ५२ लाख रुपैयाँ भएको थियो । त्यस्तै, सबभन्दा कम ०७०/७१ मा ९९ करोड ५२ लाख रुपैयाँ खर्च मात्र खर्च भएको थियो ।

काममा बढ्यो गति

काममा कडाइ गरिएको र ठेक्का लागेका सबै ठाउँमा निर्माण व्यवसायीले काम थालेका कारण निर्माणले गति लिएको आयोजना प्रमुख सत्येन्द्र शाक्यले बताए । ‘पहिले काम नगर्ने समस्यामा अहिले कमी आएको छ ।

समयमा काम नगर्नेलाई म्याद थप नहुने र कानुनी व्यवस्थाअनुसार अघि बढेपछि निर्माण व्यवसायी कामप्रति प्रतिबद्ध हुन थालेका छन्,’ उनले भने । त्यस्तै, आयोजना कार्यालयले नियमित रूपमा कार्यक्षेत्रमा भएको प्रगति विवरणलाई अद्यावधिक बनाउन सुरु गरेको छ ।

मध्यपहाडी लोकमार्ग अयोजनाले पूर्वीखण्डमा पर्ने सडकलाई चार खण्डमा विभाजन गरेर निर्माण गरिरहेको छ । त्यसअन्तर्गत १ सय १२ किमिको फिदिम खण्ड, १ सय ४० किमिको म्याङलुङ खण्ड, २ सय ६२ किमि र १७६ किमिको क्रमशः भोजपुर र सिन्धुली खण्ड रहेका छन् ।

आयोजना व्यवस्थापनका अनुसार कुल लम्बाइमध्ये ४ सय ९४ किमि निर्माणाधीन रहको छ भने १ सय ९६ किमि अन्य आयोजनाबाट निर्माण भइरहेको छ ।

पूर्वीखण्डको रेखांकन परिवर्तन

पूर्वीखण्डमा पर्ने सडकको रेखांकन परिवर्तन हुने भएको छ । सुरुमा काठमाडौं हुँदै ‘एलाएनमेन्ट’ निश्चित गरिएको भए पनि अहिले काठमाडौं उपत्यकाबाहिरबाट सडक निर्माण गरिने भएको छ ।

नयाँ रेखांकनअनुसार सिन्धुली, रामेछाप र ओलखढुंगाको खुर्कोट सेलेघाटबाट नेपालथोक (पारि) हुँदै दोलालघाट निकालिनेछ । दोलालघाटबाट काभ्रेको बाहुनेपाटी हुँदै नुवाकोटको पातीभन्ज्याङ जोड्ने नयाँ रेखांकन भएको छ । पातीभन्ज्याङदेखि पश्चिम मध्यपहाडको पश्चिमखण्ड सुरु हुनेछ ।

आयोजनाले नयाँ रेखांकन गरिएको खण्डमा परामर्शदातामार्फत विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिएको छ । त्यसपछि ठेक्का प्रक्रिया सुरु गर्ने आयोजना प्रमुख सत्येन्द्र शाक्यको भनाइ छ ।

‘विस्तृत इन्जिनियरिङ अध्ययन नभईकन लागत निश्चित नहुने भएकाले ठेक्काका लागि केही ढिलो हुनेछ । विस्तृत इन्जिनियरिङले कति स्टिमेट, कुन दिशा भएर जानेलगायतका विषयमा जानकारी दिनेछ ।

यसले ठेक्का आह्वान गर्न सहयोग पुग्नेछ । सुरुमा उपत्यका हुँदै जाने भनिएको सडक रेखांकनमा अहिले परिवर्तन गरेर काभ्रेपलाञ्चोकबाट नुवाकोट हुँदै जाने भएको हो । नयाँ पत्रिकामा समाचार छ ।