समाचार

कोहलपुर दुर्घटना अपडेट: मृतक ४ जनाको सनाखत



काठमाडौँ, ४ वैशाख । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल रहेका छन् ।

अर्की एक महिलाको सनाखत हुन बाँकी रहेको छ । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।