काठमाडौँ, ९ वैशाख । प्रधानममन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित बनाउनुपर्नेमा जोड दिँदै अनुशासनहीनतासँग कुनै पनि सम्झौता गर्न नसकिने बताउनुभएको छ ।
मदननगर बल्खुमा विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने स्पष्ट पार्नुभयो ।
नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिनुभयो । माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उहाँले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं । अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं । यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन ।’
पार्टीभित्र उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै आफ्नो प्रयास रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाललाई लक्षीत गर्दै भन्नुभयो, ‘भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने, उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न ।’
प्रचण्ड(माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको स्मरण गर्दै उहाँले आफूहरुलाई पार्टीविहीन बनाउने उनीहरुको प्रयास असफल भएको भन्दै एमालेमा फर्केर पनि फेरि फ्लोर क्रस जस्ता अपराध जारी राखेकोमा कुनै सम्झौता नहुने प्रष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्