राजनीति

प्रदेश २ : नामका लागि ६ र राजधानीका लागि ७ प्रस्ताव दर्ता



जनकपुरधाम, १० वैशाख । प्रदेश नम्बर २ को राजधानीका लागि ७ र नामकरणका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन् ।

बिहीबारसम्म तोकिएको समयसीमाभित्र नामका लागि ६ र स्थायी राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता भएका हुन् । प्रदेश सचिवालयका सचिव रञ्जित यादवले मध्यप्रदेश नामका लागि दुई दलले प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । मधेस प्रदेश नामका लागि जनता समाजवादी पार्टी (जसपा) र नेकपा मओवादी केन्द्रले दर्ता गराएका हुन् । उहाका अनुसार मधेस, मध्य मधेश, मिथिला–भोजपुरा, जनक र जानकी नामका लागि एकरएक ओटा प्रस्ताव गरी जम्मा ६ वटा प्रस्ता दर्ता भएको छन् । नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला–भोजपुरा नाम अघि सारेको छ । नेकपा एमालेले जनक र जानकी नाम दर्ता गराएको छ । नेपाली कांग्रेसकै सांसद राजेश्वर प्रसाद साहले पार्टीभन्दा छुट्टै मध्यमधेश प्रदेशको नामले प्रस्ताव दर्ता गराएका छन् ।

स्थायी राजधानीको लागि सात वटा प्रस्ताव दर्ता भएको छन् । पाँचओटा प्रस्ताव जनकपुरधाम र दुईओटा वीरगञ्जको नामले दर्ता भएका छन् ।सत्तारुढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम प्रस्ताव दर्ता गराएका हुन् । तर, सत्तारुढ दल जसपा र कांग्रेसबाट दुई/दुई वटा प्रस्ताव दर्ता भएको हो । जसपाका सांसद सिहासन साह कलवार र कांग्रेसका शंकरप्रसाद चौधरीले वीरगञ्जका लागि प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवहाले जनकपुरधाम नामले दर्ता गराएका छन् ।

हाल सतारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस्तै नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सभामा कुल १०७ सांसदमध्ये माओवादी केन्द्रका ४ जना सांसद निलम्बन भएपछि १०३ जना मात्रै छन् । नाम र राजधानीका लागि २ तिहाई मत अथार्त ६९ सासद आवश्यक पर्नेछ ।

प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सुचनाअनुसार पाँचौ अधिवेशनको दोस्रो बैठक शुक्रबार एक बजेदिख बस्न लागेको हो । बैठकमा प्रदेश प्रमुखले विधियेकको विषयमा पठाएको पत्र प्रस्तुत र राजधानी र नामाकरणको लागि दर्ता भएको प्रस्ताव टेबल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।