राजनीति

अंकगणितमा अल्झियो काँग्रेस: हतारमा मुभ गर्न नहुनेमा जोड



काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्‍ने संस्थागत निर्णय गरेको कांग्रेस अझै पनि पर्ख र हेरको रणनीतिमा छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपरान्ह बोलाएको पदाधिकारी बैठकले वैकल्पिक सरकार निर्माणका लागि अझै परिस्थिति अनुकुल र परिपक्क भइनसकेको निश्कर्ष निकालेको छ ।

बैठकपछि उपसभापति विमलेन्द्र निधिले नयाँ सरकार निर्माणको प्रयासलाई जारी राखे  पनि संसद्को अंकगणित अझै पर्याप्त नभइसकेको बताए । आइतबारको बैठकमा नेताहरूले वैकल्पिक निर्माणका लागि प्रयास जारी राख्‍ने तर अंकगणित सुनिश्चित नहुँदासम्म हतारमा मुभ गर्न नहुनेमा जोड दिएका थिए ।

देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, कोरोना संक्रमण र रोकथाम, राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल भएको थियो । सोमबार केन्द्रीय सदस्यहरूको कोरोना परीक्षण गरेर मंगलबार मात्रै  केन्द्रीय कार्यसमितिको बैठक बस्‍ने भएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।  यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।