राजनीति

मलाई अविश्वास प्रस्ताव ल्याए हुन्छ, राष्ट्रपतिलाई किन महाभियोग: प्रम ओली



काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्ने भए आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको काम सरकारको सिफारिसलाई कार्यान्वयन गर्नु भएको भन्दै संविधानअनुसार काम गर्दा महाभियोग लगाउनेसम्मको अशोभनीय कुरा गर्दै गणतन्त्र विरुद्धको खेल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोही राष्ट्रपतिलाई महाभियोग लगाउनु पर्छ भन्या छ, राष्ट्रपतिलाई महाभियोग लगाउने आक्रोश, कुण्ठा, अथवा के हो यो ?’

प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बन्न नसके आफुले पुनः प्रधानमन्त्री बन्न प्रयास गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म पनि दाबी गर्ने प्रयासमा छु । दावी गर्न सक्छु । अहिलेसम्म मसँग १२१ मतभार छ, मलाई अलि सजिलो होला । समर्थन दिनुस् भनेर साथीहरुसँग कुरा गरिरहेको छु ।’