राजनीति

तातोपानीबाट भित्रियो ३० मेट्रिक टन लिक्विड अक्सिजन



काठमाडौँ, ९ जेठ । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार मध्याह्न तातोपानी भन्सार कार्यालय भित्रिएको हो ।

‘हामीकहाँ ३० मेट्रिक टन बराबरको १५० सिलिन्डर लिक्विड अक्सिजन आइपुगेको छ,’ तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले भने, ‘उक्त परिमाणको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका ६ हजार सिलिण्डर भर्न सकिने देखिएको छ ।’ अक्सिजन बुझ्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका पुगेका थिए । ‘हामीले लिक्विड अक्सिजन बुझ्यौं, स्वास्थ्य सेवा विभागलाई बुझाउँछौं,’ गौतमले भने ।

अक्सिजन भरिएका सिलिण्डर भन्सारमा जाँचपासपछि काठमाडौं पठाउने तयारी रहेको प्रमुख गौतमले बताए । महावाणिज्य दूतावासले स्थलमार्गबाट सो सामग्री तातोपानी पठाएको थियो । लिक्विड अक्सिजन दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं लैजाने गौतमले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।