Banner News

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर (आदेशसहित)



काठमाडौँ, ३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो ।

थापालाई उहाँको दल राष्ट्रिय जनमोर्चाले निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख नेत्रनाथ अधिकारीले उनको पद रिक्त रहेको भनी प्रदेशसभा बैठकमा जानकारी गराउनुभएको थियो । तर थापाले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले थापाको सांसद पद थमौती गर्ने अन्तरिम आदेश दिएको थियो ।

तर उक्त अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालय पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । सो पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले थापालाई राष्ट्रिय जनमोर्चाले पछि पनि कारबाही गरी उनको पद खारेज भइसकेकाले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

हेर्नुहोस् आदेश