काठमाडौँ, ८ असार । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए । डा. पुनले भाइरस म्युटेसन भएर नयाँ भेरियन्ट बन्ने र अघिल्लो भेरियन्टभन्दा शक्तिशाली हुन सक्ने सम्भावना भएकाले सचेत र सजग रहनुपर्ने बताए ।
डा. पुनले भने, ‘भाइरसको स्वरूपमा परिवर्तन आउन सक्छ । यसबाट बच्ने अचुक उपाय भनेको कोरोनाविरुद्धको खोप लगाउने र जनस्वास्थ्यका मापदण्ड पूर्णतः पालना नै हो । ‘उनले बालबालिकाले लगाउने खोप परीक्षणकै क्रममा रहेकाले बालबालिका जोखिममा पर्न सक्ने बताए । डा. पुनले युवा र ज्येष्ठ नागरिकले खोप नपाए उनीहरू पनि जोखिममा पर्न सक्ने बताए । अझै अनुमानित १ करोड ९३ लाख खोप लगाउन योग्य नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित ७ लाख नागरिकले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन् ।
कोरोनाको पहिलो लहरमा ज्वरो आउने, थकाइ महसुस हुने, गन्ध वा स्वाद थाहा नपाउने, झाडापखालालगायत लक्षण देखिएको थियो । यद्यपि, पहिलो लहरमा अस्पतालमा संक्रमित भर्नादर निकै न्यून थियो । कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि अधिकांशमा लक्षण नै देखिएको थिएन । तर, दोस्रो लहरमा अक्सिजनको आवश्यकता पर्नेगरी सक्रमितलाई समस्या आएको छ । यस्तै, भेन्टिलेटर र आईसीयू भरिभराउ भएका थिए । केही दिनयता संक्रमणदर कम देखिएको छ । गम्भीर संक्रमित घटेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो लहरमा वर्तमान स्वास्थ्य प्रणालीलाई नै थेग्न हम्मेहम्मे परेको जनस्वास्थ्य विज्ञले आंैल्याएका छन् ।
यस्तै, दोस्रो लहरमा मुख्यतः २० देखि ४५ वर्ष उमेर समूह बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।संक्रमण रोकथाममा सरकारले बन्दाबन्दीलाई उपयोगमा ल्याएको छ । तर, अब पुनः तेस्रो लहर आउन सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी नै बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०-१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छांै ।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए ।
स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शøयामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्