काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौँ पुगेका छन् । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल बिनाविभागीयमन्त्री कुमार खड्कालाई साथमा लिएर शीर्ष नेताहरू भेट्न मंगलबार राति काठमाडौं पुगेका हुन् ।
मुख्यमन्त्री पोखरेल काठमाडौँ पुग्नुअघि नै कांग्रेसबाट मन्त्रीका आकांक्षीहरू पनि शीर्ष नेताहरू भेट्न त्यहाँ पुगिसकेका थिए । मुख्यमन्त्री पोखरेलले काठमाडौँमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतालाई भेटेर प्रदेश सरकारमा मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ । उनले बुधबार शीर्ष नेताहरूसँग भेट्ने छन् । मुख्यमन्त्री पोखरेल बिहीबार पोखरा फर्किने उनको सचिवालयले जनाएको छ ।
गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बीच गठबन्धन भएको थियो । गठबन्धन बनाउने क्रममा दलको हैसियतअनुसार प्राथमिकताका आधारमा मन्त्रालय रोज्ने भनिएपछि कांग्रेसले अर्थ, माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।
कुराकानी गरेपछि कांग्रेसले अर्थ मन्त्रालय हरिशरण आचार्यलाई दिने सहमति गरेको थियो । तर अहिले आएर कांग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरूको कार्यविभाजन रोकिएको छ भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन । यो समाचार नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्