शैक्षिक

भारतले नेपालमा हस्तक्षेप गरेको छैनः राजदूत राय



काठमाडौँ, १२ माघ । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरेका छन् ।

‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन’, उनले भने, ‘यो कुरा नेपालीहरूको मनमा पनि छैन । हस्तक्षेप गरेर भारतलाई के फाइदा हुन्छ ?’

राजदूत रायले नेपालमा अस्थिरता भए भारतलाई फाइदा नहुने पनि उनले जिकिर गरे । ‘नेपाललाई फाइदा नहुने कुरा, भारतलाई पनि फाइदा हुँदैन’, उनले भने ।

यद्यपि उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको इतिहास सुनाए । ‘‘काठमाडौँका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिए पनि नेपाली जनतामा भारत विरोधी भावना छैन ’ उनले थपे।

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद बनाउन आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताएका छन् ।

भारतीय ६८ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा राजदूत रायले नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताए ।

‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ’, उनले भने, ‘अब २१ औँ शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीबिच चुनौतीहरू छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ ।’

साक्षात्कारमा बोल्दै राजदूत रायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, सांस्कृतिक र धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

रायले थपे, ‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्छ।’

उनले नेपाल–भारत सम्बन्ध आर्थिक साझेदारीका साथ अघि बढिसकेको समेत स्पष्ट पारे । ‘आर्थिक साझेदारीका सुरुवातहरु भइसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यही वर्षको मध्यतिर यो महायोजना लागू हुन्छ, यो लागू हुनेवित्तिकै सुदुरपश्चिममा मात्रै नभएर पुरै नेपालमै विकासको तरङ्ग पैदा हुन्छ।’

त्यस्तै उनले अपर कर्णाली, अरुण तेस्रो परियोजनाहरू पनि अघि बढिरहेको उल्लेख गरे । यद्धपी उनले उक्त परियोजनाहरू निर्माणको क्रममा केही स्थानीय अवरोधहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।