बुटवल, १२ असार । उपप्रधानमन्त्री विष्णु पौडेलले निर्वाचनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।
शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उहाँले मुलुकमा भएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने एकमात्र अधिकार प्राप्त जनतामा निहित रहेकाले वर्तमान अवस्थामा निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।
अदालतमा यसबारे मुद्दामामिला चलेपनि लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गर्दै उहाँले सरकारले निर्वाचनमा वाचा गरे अनुसार विकासका नयाँ नयाँ काम गर्न खोजेको तर अनपेक्षित दृश्य देखा परेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेको र अरु दलले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको जिकिर गर्दै उहाँले अब निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।
गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान र दोभानबाट बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ । यो आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्