पोखरा, १२ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने मन्त्रालयको टुङ्गो लगाउनुभएको छ ।
मन्त्रालयको भागबण्डाका क्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबीच विवाद बढेपछि गत जेठ २९ गते नियुक्त भएका ४ जना मन्त्रीले हालसम्म पनि जिम्मेवारी पाएका थिएनन् । प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले विनाविभागीय ४ जना मन्त्रीलाई तत्कालका लागि विभिन्न मन्त्रालयको जिम्मेवारी दिएर अगाडि बढ्न लागेको बताउनुभयो ।
अहिले मुख्यमन्त्री सहित ५ जना मन्त्रीलाई विभिन्न मन्त्रालयका जिम्मेवारी दिएर बजेटमाथिको छलफल टुङ्ग्याएपछि मात्र मन्त्रिपरिषदले पूर्णता पाउने बताइएको छ । गण्डकी प्रदेशका ११ मन्त्रालय रहेका छन् । अन्य मन्त्रालयमा भागबण्डा नमिल्दा नियुक्ति हुन सकेको छैन ।
तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । काँग्रेसबाट मन्त्री बनेका खड्काले सरकारमा अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकमा दावी गर्नुभएको थियो । यसैगरी माओवादी केन्द्रबाट मन्त्री बन्नुभएकाकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्