Banner News

काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण



काठमाडौँ, १३ असार । नेपाली  काँग्रेसको  १४ औं  महाधिवेशनको  मिति  नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह  तथा  गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा  नेतृत्वमा  स्थापित  हुन  पार्टीका शीर्ष  नेताहरूले  सुरु  गरेको  राजनीतिक  सक्रियताले  पुराना आन्तरिक  गुट  भत्कँदै  नयाँ  समीकरण निर्माणतिर  अग्रसर हुन थालेको छ ।

पार्टी महाधिवेशन हुने  निधो  भएपछि  सभापति  शेरबहादुर  देउवाले  सभापतिमा  पुनः  दोहोरिने  घोषणा गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू  गुट–उपगुटको  चियाचमेनामा  क्रियाशील हुन थालेका हुन् । सभापति  देउवाको  यसअघिको  समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी बार्गेनिङका  रूपमा  मात्रै  हो  भन्नेहरू पनि छन् ।

यो  अवस्थामा  निधिबाहेक  देउवाले  आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला  तल  नझर्ने  विश्लेषण  भीमसेनदास  प्रधानको छ । उनी अघिल्लो महाधिवेशनमा पहिलो  चरणमा कृष्णप्रसाद  सिटौला  र  दोस्रो  चरणमा  देउवा  नेतृत्वलाई सभापति  बनाउनेमा पर्छन् । ऐतिहासिक  ‘लिगेसी’  जोडिएका  तीन  जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा  पनि  बढ्न  थालेको  छ  ।

बीपी  कोइरालाका  पुत्र  महामन्त्री  डा.  शशाङ्क  कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह  र  नेता  महेन्द्रनारायण निधिका  पुत्र विमलेन्द्र  निधिबीच  शुक्रबार  कोइराला  निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो । यसअघि  निधिको निवासमा  यसै  साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।