समाचार

बाढी र पहिरोका कारण १४ वटा सडक खण्ड बन्द



काठमाडौँ, १८ असार । बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको छ ।

सडक विभागका अनुसार ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ । यस्तै ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि  खुलेको छैन । यस्तै मनाङको डुम्रे बेसीसहर-चामे सडक खण्ड पनि ठाउँ-ठाउँमा बन्द छ ।

मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ । यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर-कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन ।