पर्यटन

रानीबारी वनमा चरा अध्ययन केन्द्र भवनको उद्घाटन



काठमाडौँ, ११ वैशाख । राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ ।

नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा आज आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गर्नुभएको हो ।

उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउने सम्झौताअन्तर्गत सो भवन निर्माण गरिएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष नेपालीले जैविक विविधताले भरिपूर्ण रानीबारी वन काठमाडौँ सहरको बीचमा प्राकृतिक हरियाली भएकाले यसको छुट्टै महत्व छ भन्नुभयो ।

परम्परादेखि नै राजाहरुको दिवाली पूजा हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पछि सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हँुदै आएको छ । रानीबारी वन काठमाडौँ सहरका बीचमा ६।९५ क्षेत्रफल हेक्टरमा अवस्थित प्राकृतिक वन हो । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्याङ्क छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष युवराज बस्नेतले सिकाइ केन्द्र स्थानीय समुदाय, विद्यार्थी तथा सम्बन्धित विषयका शोधार्थीका लागि उपयोगी हुने बताउँदै जैविक विविधताबारे जनचेतना प्रवद्र्धन तथा स्थलगत पहिचान गराउने कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सङ्घ सन् १९८२ देखि चराको खोज अनुसन्धान तथा जैविक विधिता संरक्षणमा क्रियाशील संस्था हो ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करनबहादुर शाह, रानीबारी वनका अध्यक्ष सन्तोषविक्रम शाह, सङ्घका निर्देशक इशाना थापालगायतले पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापनाले सो वनको जैविक विविधता संरक्षणमा टेवा पुगी सहरी वातारण स्वच्छ र हरियाली हुने धारणा व्यक्त गर्नुभयो ।