काठमाडौँ, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नै नभएको बताएका छन् ।
आज बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’
अध्यक्ष ओलीले नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको पनि घोषणा गरे । नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले बताए ।
ओलीले अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको बताए । उनले भने, “तीनवर्षको सफल कार्यकाल पूरा गरेर, जनादेशबाट होइन, परमादेशबाट, अदालतबाट अकारण कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन । नेपालको स्वाभिमान उठाएर काम गर्दागर्दै जालीझेलीहरुको जालझेलस्वरुप अदालतमा मुद्दा हालेर असंवैधानिक फैसला, जनादेशविपरीत कुनै मूल्यांकनको आधारमा होइन जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरियो ।”
“नेपाली जनतामाथि, लोकतन्त्र, संविधानमाथि अतिक्रमण्ण भयो । जनताको अधिकार खोसिएको छ । अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतबाट भएको छ ।”










प्रतिक्रिया दिनुहोस्