राजनीति

युथफोर्सले दियो सयौं युवालाई ‘तालिम’



भक्तपुर, २ साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको युथफोर्सले आफ्ना सयौं कार्यकर्तालाई एक दिने कमाण्डो तालिम दिएको छ ।

भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आज आयोजित एक कार्यक्रमकाबीच एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेशको प्रमुख आतिथ्यतामा युथफोर्सका सदस्यहरुलाई तालिमको सुरुवात गरिएको हो । युवा संघले केही दिनअघि युथ फोर्स ब्यूँताइएको थियो । युथ फोर्सले पार्टी, देश र जनताको निम्ती आवश्यक परेमा खुकुरीको धार भएर निस्कने उद्घोषका साथ क्षितिज थेवेको संयोजकत्वमा युथ फोर्स व्युँताइएको छ ।

सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो । युथ फोर्सले राज्यका ज्याद्धती र जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने बताएको छ ।

विदेशी शक्तिहरुको आडमा मुलुकको व्यवस्थालाई नै समाप्त पार्ने ग्राण्ड डिजाईनमा सरकारवादी शक्तिहरु लागि परेकाले अबका दिनमा मुलुकको रक्षा, व्यवस्था तथा संविधानको रक्षाका निम्ती युथफोर्सले देशव्यापी तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ । युथफोर्सले केही समय भित्रमा नै कम्तिमा पनि ५० हजार युवाहरुलाई परिचालन गरी कानुनलाई हातमा लिएर नभई साथमा लिएर पार्टी, जनता, व्यवस्था तथा विदेशीको इसारामा चल्ने सरकारको विरुद्धमा प्रतिरोध गर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले आफूहरूले कानुनलाई हातमा नलिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ । हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दुःख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दुःख दिँदैनौँ ।’ नेता बस्नेतले युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिनुभयो । उहाँले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउनुहुँदै सजग भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स मुलुक, जनता तथा पार्टीको लागि विना वर्दिको प्रहरी भएको बताउनुभयो । युथफोर्स जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।