समाचार

स्थानीयको ढुंगा प्रहारबाट १३ प्रहरी घाइते



धनगढी, ६ साउन । धनगढीमा स्थानीयबासीको ढुंगा प्रहारबाट १३ जना प्रहरी घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ढुङ्गा प्रहारबाट मेघाफोन १ थान, पारदर्शी सिल्ड १० थान, हेल्मेट ३ थान पनि पूर्ण रुपमा क्षति भएको छ । प्रहरीमाथि ढुंगा प्रहार गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ भने अरूको खोजी भइरहेको छ ।

३ नम्बर वडा डुवानमा परेपछि पानी निकास गर्न वडा नम्बर २ का स्थानीयले बन्द गरेको कलभर्ट खोल्नुपर्ने माग अन्य स्थानीयको थियो । प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेपछि २ नम्बरका स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीलेले बताए ।