काठमाडौँ, ११ साउन । पोखराका अमूल्य सम्पदा फेवाताल, सेती खोंच, डेभिज फल्स र रामघाटको दोहन अब निजी कम्पनीले गर्ने भएका छन् । सेतीको रामघाट र मोरेखरेमा बाँध बनाएर ३५ वर्षसम्म ढुंगा, गिट्टी निकाल्न महानगरले निजी कम्पनीसँग सम्झौता गर्दै छ । त्यस्तै सेती खोंच र डेभिज फल्स पनि ४० वर्षका लागि निजी कम्पनीलाई दिने तयारी छ ।
प्राकृतिक स्रोत दोहन गर्न निजी कम्पनीले तयार गरेको प्रस्तावअनुसार महानगरले सार्वजनिक–निजी साझेदारी ऐन र नियमावली, २०७५ बनाएको थियो । यही ऐन र नियमावली दुरुपयोग गर्दै पोखराका प्रमुख प्राकृतिक सम्पदा निजी कम्पनीको जिम्मा लगाउने तयारी भएको हो ।
सेती खोंचमा साहसिक पर्यटन पूर्वाधार र डेभिज फल्स (पातले छाँगो) मा सिसाको पुल निर्माणको योजना स्थानीय पस्मिना व्यापारी कर्केनकुमार गुरुङले बनाएका हुन् । यसका लागि उनले पोखरा महानगरका प्रमुख र तत्कालीन प्रशासकीय अधिकृतलाई ३ वर्षअघि नै सहमत गराएका थिए । त्यति नै बेला पोखराको व्यापारिक घराना बतास अर्गनाइजेसनले रामघाटमा स्थायी बाँध बनाउने र सेतीको बहाव थुनेर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने योजना पेस गरेको थियो । बताससँगै मिसिएका अर्का व्यवसायी विजय भट्टराईले सेती र विजयपुर खोलाको दोभानदेखि केही तल मोरेखरेमा बाँध बाँधेर ढुंगा, गिट्टी, बालुवा निकाल्ने योजना बनाए । उनैले फेवातालमाथि त्रुज भेसल चलाउने प्रस्ताव पनि राखे ।
प्राकृतिक स्रोत यसरी निजी कम्पनीलाई दिन कानुन नै बाधक भएकाले योजनाबद्ध रूपमा महानगरले सार्वजनिक–निजी साझेदारी (सानिसा) ऐन बनाएको हो । कर्केन, बतास र भट्टराईको योजना सफल बनाउन महानगरले सानिसाअन्तर्गत पहिलोपल्ट २०७५ फागुन २० मा नै विभिन्न ५ योजनामा मनसायपत्र आह्वान गर्दै स्थानीय पत्रिकामा सूचना निकाल्यो ।
सराङकोटमा पर्यटन पूर्वाधार विकास आयोजनाको पनि तयारी थियो तर स्थानीयको विरोध भएको भन्दै महानगरले रद्द गर्यो । बेगनास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्न प्रस्तुत मनसायपत्र मापदण्ड नपुगेको भन्दै अस्वीकृत भयो, त्यस्तै महानगर क्षेत्रभित्र डिजिटल होर्डिङ बोर्ड व्यवस्थापन कार्यमा पनि प्रगति भएन । तर, डेभिज फल्स र सेती खोंचमा पर्यटन पूर्वाधार बनाउने तथा रामघाट र मोरेखरेमा बाँध बनाएर ढुंगा, गिट्टी निकाल्ने योजना भने अघि बढेका छन् ।
निर्माण सामग्रीका लागि पोखरामा चल्तीको घाट हो, रामघाट । सेतीले बगाएर ल्याउने बालुवा बर्सेनि रामघाटमा थुप्रिन्छ । ‘सेतो सुन’ को खानी हात पार्न व्यवसायी आनन्दराज बतासको बी रिभर माइनिङ प्रालिले प्रक्रिया अगाडि बढाएको छ । गत कात्तिक ७ मा स्थानीय पत्रिकामा सूचना प्रकाशन गरी महानगरले सेती नदीको रामघाट क्षेत्रमा स्थायी बाँध निर्माण गरी नदीजन्य सामग्री संकलन तथा निकासी गर्न प्रस्ताव आह्वान गरेको थियो । पूर्वयोजनाअनुसार बतासकै कम्पनी छनोटमा पर्यो । कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरी प्रतिवेदन महानगरलाई बुझाएको छ । महानगरले बी रिभर माइनिङलाई वार्तामा बोलाएको छ ।
कम्पनीले बुझाएको प्रस्तावअनुसार रामघाटको पुछारमा ५ मिटर अग्लो बाँध बनाएर सेती थुनिनेछ । यसो गर्दा नदीसँगै आउने ढुंगा, गिट्टी, बालुवा पनि थुनिनेछ । उक्त निर्माण सामग्री मेसिनको प्रयोगबाट उत्खनन गरी बिक्री गरिनेछ, यो क्रम आगामी ३५ वर्षसम्म जारी रहनेछ ।
यसरी ढुंगा, गिट्टी दोहनका लागि सेतीको प्राकृतिक बहाव नै रोक्ने कम्पनीको प्रस्तावलाई महानगरले सजिलै स्वीकार गरेको छ । नदीको बहाव रोकिएपछि तल्लो तटका जलजीवसहित प्राकृतिक जीवन के हुने भनेर महानगरले सोचेको छैन । महानगरले त रोयल्टीबापत २ वर्षसम्म वार्षिक ७ करोड रुपैयाँ आउने विषयलाई महत्त्व दिएको छ । त्यसपछि प्रत्येक २/२ वर्षमा जम्मा २ प्रतिशतका दरले वृद्धि हुनेछ । वार्षिक कुल आम्दानीको ५ प्रतिशत छुट्टै रोयल्टी बुझाउने प्रस्ताव गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्